शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै

कर्णाली। भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा अलपत्र परेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार सुरु गरिएको छ ।

शे–फोक्सुण्डो तालको अवलोकन भ्रमण सकेर माथिल्लो डोल्पातर्फ लागेका उनीहरू केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण दानीगढमा फसेका हुन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन् ।

उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिइन् । पर्यटकहरू फसेको क्षेत्रमा मोबाइल नेटवर्क नभएका कारण प्रत्यक्ष फोन सम्पर्क हुन नसकेको उनले बताइन् । यद्यपि, उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको सम्पर्कमा रहेका छन् ।

माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि पदयात्रीलाई आवतजावत गर्न रोक लगाइएको थियो । तर, उक्त प्रतिबन्धको बेवास्ता गर्दै उनीहरू माथिल्लो डोल्पातर्फ गएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेकी छन् ।