दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ– जिल्ला भूमि समस्या समाधान समितिले दाङका आठ भूमिहीन परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले आज आठ भूमिहीन परिवारलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

गढवा गाउँपालिकाका अध्यक्ष पोखरेलका अनुसार लालपुर्जा प्राप्त गर्नेमा साविक गोबरडिया गाविस वडा नं. ६ ‘ख’ (हाल गढवा गाउँपालिका–३) का पाँच, साविक सोनपुर–५ ‘क’ (हाल लमही नगरपालिका–३) का दुई र साविक लालमटिया–३ (हाल राप्ती गाउँपालिका–१) का एक भूमिहीन दलित परिवार रहेका छन्।

लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अवसर पाएका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी उनीहरूलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने लक्ष्यसहित लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।