भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

नयाँदिल्ली । भारतको पूर्वी तटतर्फ एक साताभन्दा कम अवधिमा दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मङ्गलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

मौसम विभागले चक्रवातले दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्ने क्रममा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चल्ने र अधिकतम गति १२० किलोमिटरसम्म पुग्न सक्ने जनाएको छ । यो आँधी नेल्लोर र नरसापुरबीच ओङ्गोल सहरनजिकै तटमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

अघिल्लो चक्रवातको तुलनामा ‘मुरासु’ केही कमजोर हुने अपेक्षा गरिए पनि यसले प्रभावित क्षेत्रमा थप भारी वर्षा गराउन सक्ने चेतावनी दिइएको छ । गत बुधबार आएको ‘अर्नब’ चक्रवातका कारण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो ।

मौसम विभागले तीव्र हावाहुरीका कारण कमजोर संरचनाका घरमा क्षति पुग्न, छाना उड्न तथा रूख ढल्न सक्ने जनाएको छ । चक्रवातको प्रभावले खेतमा रहेका बाली, फलफूलका बगैँचा तथा अन्य कृषि उत्पादनमा समेत ठूलो क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

बङ्गालको खाडी र उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवातको जोखिम नियमित रहने गरेको छ । उत्तरी अटलान्टिक महासागरमा यस्ता आँधीलाई हरिकेन र प्रशान्त महासागरमा टाइफुन भन्ने गरिन्छ ।

एएफपीका अनुसार पछिल्लो चक्रवातका कारण भारतको पूर्वी तटीय क्षेत्रका बासिन्दा पुनः प्रभावित हुने जोखिम बढेको छ ।