समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । सात वटा समस्याग्रस्त सहकारी संस्थाले १२२ जना बचतकर्ताको बचत रकम फिर्ता गरेका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार तीन वटा सहकारीले २३ जना बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गरेका छन् भने चार वटा सहकारीले ९९ जना बचतकर्तालाई आंशिक रकम उपलब्ध गराएका छन् ।

समितिका अनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीले २३ जना बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरेका हुन् ।

त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ९९ जना बचतकर्तालाई आंशिक रकम फिर्ता गरेका छन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गरिएको हो ।

पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिले जनाएको छ । आगामी दिनमा पनि बचत रकमका आधारमा बचतकर्ताको वर्गीकरण गरी फिर्ता प्रक्रिया अघि बढाइने जनाइएको छ ।

समस्याग्रस्त सहकारी संस्थाको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर फिर्ता गर्ने कार्य भइरहेको समितिले स्पष्ट पारेको छ ।