काठमाडौं । अघिल्लो दिन ६.६२ अंकले बढेको सेयर बजारमा बुधबार सामान्य वृद्धि देखिएको छ । यस दिन नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५ अंकमा पुगेको हो ।
बजारमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने बढेको छ । मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ । त्यस्तै, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
समूहगत परिसूचकतर्फ अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा भएको उच्च वृद्धिले यस समूहलाई उकासेको हो ।
सरकारी स्वामित्वसमेत रहेको नेपाल पुनर्बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न मन्त्रिपरिषद्ले निर्णय गरेपछि कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने निश्चित भएपछि हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि ११.४८ प्रतिशतले उकालो लागेको छ ।
अन्य समूहसँगै व्यापार समूह १.११ प्रतिशत र जीवन बीमा समूह ०.१० प्रतिशतले बढेका छन् ।
यता बैंकिङ समूह ०.८२, विकास बैंक ०.४४, फाइनान्स ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, लघुवित्त ०.२० र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेका छन् ।
बुधबार स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ । त्यस्तै, घोराही सिमेन्टको ५, नेपाल रिपब्लिक मिडियाको ४.९७ र मन्दाकिनी हाइड्रोपावरको ४.४२ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यस दिन शिखर पावरको सेयर मूल्य सबैभन्दा धेरै ३.७४ प्रतिशतले घटेको छ । सीवाईसी लघुवित्तको ३.३४, चिरख्वा हाइड्रोपावरको ३.२६ र जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा स्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक अगाडि रहेका छन् ।






