आईजीपीलाई कारवाही गरिएको होइन, जिम्मेवारी फेरबदल होः सरकारका प्रवक्ता

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही नगरिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले कार्कीको जिम्मेवारी मात्रै परिवर्तन गरिएको दाबी गरेका छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले कार्कीलाई जिम्मेवारीबाट हटाइएको विषयलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका हुन् ।

पत्रकारहरूले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे प्रश्न गरेपछि उनले यो नियमित जिम्मेवारी हेरफेर भएको स्पष्टीकरण दिएका थिए ।

उनका अनुसार अब कार्कीले प्रधानमन्त्रीलाई शान्ति सुरक्षासम्बन्धी विषयमा सल्लाह दिनेछन् । विभिन्न पक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत संवेदनशील विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव र निर्देशन आएको उनले बताए ।

पोखरेलले भने, ‘उहाँलाई कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै गरिएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षासम्बन्धी सल्लाह दिने हुन्छ । धेरै ठाउँबाट र पार्टी (रास्वपा) बाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भन्ने निर्देशन आएको थियो । सुरक्षा सल्लाहकारका रूपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो ।’