काठमाडौं । यस वर्षको मनसुन अवधिमा देशभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन्। ती घटनामा २२७ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेकका मनसुनजन्य विपद्का घटनामा उक्त मानवीय क्षति भएको हो।
प्राधिकरणका प्रवक्ता राम केसीले यस वर्ष मनसुनजन्य विपद्का कारण तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएको जानकारी दिए। यस वर्षको मनसुन ११८ दिनसम्म कायम रहेको थियो।
गत वर्षको मनसुन अवधिमा विपद्जन्य घटनामा परी १४० जनाको मृत्यु, ३० जना बेपत्ता र ३०० जना घाइते भएका थिए। उक्त अवधिमा पाँच हजार ९९५ परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
प्रवक्ता केसीका अनुसार यस वर्ष मनसुनजन्य विपद्बाट देशका ७७ वटै जिल्ला प्रभावित भएका छन्। मानवीय क्षतिको हिसाबले भने ४५ जिल्ला बढी प्रभावित भएका थिए।
यस वर्षको मनसुन अवधिमा भोटेकोशी बाढी तथा असोज ७ देखि ११ गतेसम्म भएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबान प्रमुख विपद्का घटनाका रूपमा देखिएका छन्। त्यस्तै, बुढीगण्डकी नदीमा आएको बाढीबाट गोरखा जिल्ला पनि प्रभावित भएको थियो।
प्राधिकरणका अनुसार यस वर्ष समग्रमा औसत वर्षा भए पनि छोटो समयमै भएको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानका घटना भएका थिए।






