प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग मिश्रीले शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा प्रधानमन्त्री शाहको भारत भ्रमणलगायत विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शाहसँगको भेटपछि भारतीय विदेश सचिव मिश्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री बुधबार नेपाल आएका थिए । दुईदिने नेपाल भ्रमण पूरा गरी उनी बिहीबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।