पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैनः सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि प्रकारको आर्थिक लेनदेन वा अनुचित गतिविधि नभएको दाबी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत श्रव्य सामग्री सार्वजनिक गर्दै सभापति थापाले इनम सापकोटासँग जोडेर सार्वजनिक गरिएको अडियो प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।

पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस विषयमा पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले उक्त प्रकरणलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिए । उनले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारे ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको अडियो कहाँ, कहिले, कसले र कुन परिस्थितिमा बोलेको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको थापाले बताए । अडियोमा आफ्नो नाम जोडिएको विषयमा थप स्पष्टीकरण दिन आवश्यक नरहे पनि सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पारेको उनको भनाइ छ ।

कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको मागसहित भएको विद्रोहका रूपमा व्याख्या गर्दै थापाले गत वर्ष भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र रूपान्तरणको अभियान अघि बढाइएको बताए ।

पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी प्रक्रियामा कुनै आर्थिक कारोबार नभएको दाबी गर्दै उनले भने, “नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन ।”

थापाले अडियो प्रकरणमा आफूलाई प्रश्न गर्नुभन्दा अनुसन्धान गर्ने निकायसँग जवाफ माग्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरे । सापकोटासँग जोडिएको विषयमा निष्पक्ष अनुसन्धान गरी संलग्न सबै पक्षको भूमिका सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

“अनुसन्धान निष्पक्ष हुनुपर्छ । दूधको दूध, पानीको पानी छुट्टिने गरी छानबिन हुनुपर्छ,” उनले भने ।

अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाटमा लागेको भन्ने प्रचारप्रति पनि थापाले आपत्ति जनाए । मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारको विश्वासको मतसम्बन्धी विषयलगायत राजनीतिक संवादका क्रममा विभिन्न दलका नेताहरूसँग भेट भएको उनले स्पष्ट पारे ।

आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक विषयमा भेटघाट गरेको बताउँदै उनले ती भेटलाई अडियो प्रकरणसँग जोडेर व्याख्या गर्नु उचित नभएको बताए ।

यसैबीच, सभापति थापाले वर्तमान सरकारले पाँच वर्षका लागि प्राप्त गरेको जनादेशको सम्मान गर्नुपर्ने धारणा राखेका छन् । उनले सरकारले विपद्पछिको पुनःस्थापना, घरबारविहीन नागरिकको व्यवस्थापन, अर्थतन्त्र सुधार, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।