विराटनगर किङ्स ८३ रनमै अलआउट, काठमान्डुलाई ८४ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै समेटिएको हो ।

विराटनगरको ब्याटिङ निकै कमजोर रह्यो । पावरप्लेमा तीन विकेट गुमाउँदै २३ रन बनाएको विराटनगरले १० ओभरको खेल सकिँदा सात विकेटको क्षतिमा ३७ रनमात्र जोडेको थियो ।

विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रनको योगदान दिए । म्याथ्युजले ३१ बल खेलेर उक्त रन बनाएका हुन् ।

त्यस्तै, बसिर अहमदले १० र लोकेश बमले ६ रन जोडे । विराटनगरका तीन ब्याटरले भने खातासमेत खोल्न सकेनन् । आफ्नो अन्तिम खेल खेलिरहेका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल पनि तीन रनमै आउट भए ।

काठमान्डु गोर्खाजका बलर सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । सहन आरच्चिगेले दुई विकेट हात पार्दा करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले समान एक–एक विकेट लिए ।

अब ८४ रनको लक्ष्य पछ्याउँदै काठमान्डु गोर्खाज मैदानमा उत्रिएको छ ।