काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका मिस्री बिहीबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेर भेट गरेका हुन् ।
भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणको सफलताको कामना गरेका थिए ।
उनले नेपालले विकास र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको पनि बताएका थिए ।
भेटवार्तामा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । सो अवसरमा दुवै पक्षले दुई देशबीच रहँदै आएको ऐतिहासिक तथा घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए ।






