जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश

मस्को । रुसले जापानी बहुराष्ट्रिय कम्पनी जापान टोबाको इन्टरनेसनल (जेटीआई) को रूसी सम्पत्ति आफ्नो नियन्त्रणमा लिने निर्णय गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार निर्देशन जारी गर्दै कम्पनीका सम्पत्ति अस्थायी प्रशासनअन्तर्गत राख्न आदेश दिएका हुन्।

जापानी पत्रकारलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि जापान र रुसबीचको सम्बन्ध थप तनावपूर्ण बनिरहेका बेला रुसले यस्तो कदम चालेको हो।

पुटिनद्वारा जारी निर्देशनमा जेनेभास्थित मुख्यालय रहेको जेटीआईको रुसी सञ्चालनअन्तर्गतका औद्योगिक सम्पत्ति एक रुसी कम्पनीलाई हस्तान्तरण गर्ने उल्लेख छ।

अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रतिकारस्वरूप रुसले विदेशी कम्पनीका सम्पत्ति तथा व्यवसाय आफ्नो नियन्त्रणमा लिने कदम चाल्दै आएको छ। यसअघि स्विस खाद्य कम्पनी नेस्ले र फ्रान्सेली सुपरमार्केट समूह अउसानले पनि रुसमा यस्तै परिस्थितिको सामना गर्नुपरेको थियो। रुसी कदमका कारण विभिन्न युरोपेली कम्पनीले त्यहाँका आफ्ना व्यवसाय गुमाएका छन्।

सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि सयौँ विदेशी कम्पनीले रुसी बजार छाडेका थिए। यद्यपि, केही कम्पनीले भने अझै त्यहाँ आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्।

रुसले आफूले ‘मित्रवत् नभएका’ ठानेका देशका कम्पनीमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ। युक्रेन युद्धका कारण ती देशले मस्कोमाथि प्रतिबन्ध लगाएपछि रुसले विदेशी कम्पनीको लाभांश भुक्तानीमा रोक लगाउनुका साथै व्यवसाय बिक्री गरेर बाहिरिन चाहने कम्पनीमाथि उच्च बहिर्गमन कर लगाएको छ। यसका कारण कतिपय विदेशी कम्पनीले आफ्ना रूसी सम्पत्ति स्थानीय व्यवस्थापनलाई सुम्पेर बाहिरिनुपरेको छ।

जापानले पनि युक्रेनमाथि रुसी आक्रमणपछि मस्कोविरुद्ध लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धमा समर्थन जनाएको छ। यसका अतिरिक्त प्रशान्त महासागरका केही द्वीपको स्वामित्वलाई लिएर जापान र रुसबीच दशकौँदेखि विवाद रहँदै आएको छ।

यसैबीच, रुसी सुरक्षा सेवा (एफएसबी) ले गत महिना जापानी समाचारपत्र होक्काइदो शिम्बुनका पत्रकार युकी इमाईलाई जासुसी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो। रुसले जापानले आफ्नो भूमिमा जासुसी गतिविधिका लागि योजनाबद्ध रूपमा पत्रकार परिचालन गर्ने गरेको आरोपसमेत लगाएको छ।

तर जापानले भने रुसी पक्षका आरोप अस्वीकार गर्दै आएको छ।