बुटवल — सुक्खा पहिरोका कारण बिहीबार रातिदेखि अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्डमा शुक्रबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ।
गुल्मीको रुद्रवेणी–पूर्तिघाट सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। पहिरो हटाएसँगै सडक पुनः सञ्चालनमा आएको हो।
कालीगण्डकी करिडोर सडक योजना कार्यालयले गुल्मीको हर्मिचौरदेखि गुल्मी र बागलुङको सीमाक्षेत्र पालुङ खोलासम्मको सडक निर्माण सम्पन्न गरी गत असारमा मर्मतसम्भारको जिम्मेवारीसहित सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको थियो।
सडक हस्तान्तरण भइसके पनि राक्से क्षेत्रमा करिब १५० मिटर सडक आसपासको जमिन कमजोर रहेकाले पटकपटक सुक्खा तथा हिलेसहितका पहिरो खस्ने गरेको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त प्रमुख इन्जिनियर पवित्रमणि आचार्यले बताए।
उनका अनुसार बिहीबार राति खसेको पहिरो हटाएपछि शुक्रबार बिहानदेखि सडकमा यातायात सञ्चालन भएको छ। उक्त क्षेत्रमा निरन्तर पहिरो खस्ने समस्या रहेकाले पहिरो पन्छाउन एउटा मेसिन तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।
राक्से क्षेत्रको जमिन तथा डाँडाको भौगर्भिक अवस्थाबारे विस्तृत अध्ययन आवश्यक देखिएकाले भूगर्भ विभागलाई पत्राचार गरिएको पनि आचार्यले बताए। तिहारपछि विभागको प्राविधिक टोलीले उक्त क्षेत्रको अध्ययन गर्ने तयारी छ।






