प्रचण्डको टिप्पणी : सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै रहस्यमय र अनिश्चित

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैली हिन्दी जासुसी फिल्मजस्तै रहस्यमय, अपारदर्शी र अनिश्चित रहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका गतिविधिले मुलुकमा अन्योल र अशान्तिको अवस्था सिर्जना गरेको आरोप लगाए । सरकारको कामकारबाहीमा कुनै निश्चितता नरहेको उल्लेख गर्दै उनले जुनसुकै बेला जोसुकै पत्रकार पक्राउ पर्ने वा कसैमाथि आक्रमण हुने अवस्था रहेको बताए ।

उनले हिन्दी जासुसी फिल्ममा असम्भव र अनौठा घटनासमेत देखाइने प्रसङ्ग उल्लेख गर्दै सरकारको कार्यशैली पनि त्यस्तै रहस्यमय बनेको टिप्पणी गरे ।

‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन,’ उनले भने, ‘यो सरकारका बारेमा भन्ने दिन आउँदैछन्, अहिले यत्ति भनौँ ।’

प्रचण्डले पछिल्लो समय विगत ३५ वर्षमा मुलुकमा कुनै उपलब्धि नभएको भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाए । गणतन्त्र, सङ्घीयता र समावेशिताजस्ता राजनीतिक उपलब्धिसँगै पूर्वाधार तथा ऊर्जा क्षेत्रमा भएका प्रगतिलाई पनि बिर्सन नहुने उनको भनाइ थियो ।

पुराना राजनीतिक दलहरूको योगदान र इतिहासलाई अवमूल्यन गरेर मुलुकको समग्र उपलब्धिको मूल्याङ्कन गर्न नहुनेमा जोड दिँदै उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।