चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा गन्तव्यतर्फ लागेका छन् । सडक एकतर्फी सञ्चालनमा रहँदा सवारीसाधनलाई लामबद्ध गरी आलोपालो गरेर पठाइएको थियो ।
नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी एवं इन्जिनियर सचिन्द्र मिश्रका अनुसार करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । उक्त स्थानमा भित्तो काटिएको नभई माथिबाट आफैँ पहिरो खसेको उनले बताए ।
उनका अनुसार सो क्षेत्रको जमिन कमजोर रहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम भने कायमै छ ।






