इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना गएराति करिब पौने १२ बजे भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनालाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।
मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको डीएसपी खड्काले जानकारी दिए।






