चितवन । भरतपुर महानगरपालिका–११ स्थित विशाल चोकमा दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा बिक्री कक्षको उद्घाटन गरेका हुन् ।
बिक्री कक्षमा डिडिसीले उत्पादन गरेका दुग्धजन्य सामग्री मात्रै बिक्री गरिनेछ । यहाँ दूध, दही, घिउ, पनिर, चिजलगायत २० प्रकारका उत्पादन उपलब्ध हुने बिक्री कक्षका सञ्चालक प्रदीप पण्डितले जानकारी दिए ।
नागरिकलाई सहज रूपमा गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालन गरिएको उनले बताए ।
सरकारको पूर्ण स्वामित्वमा रहेको डिडिसीले ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गर्दै सहरी क्षेत्रका उपभोक्तालाई बिक्री वितरण गर्दै आएको छ ।
संस्थानका महाप्रबन्धक पाण्डेका अनुसार आगामी तीन महिनाभित्र चितवनका विभिन्न स्थानमा डिडिसीका उत्पादन मात्रै बिक्री गर्ने थप १० वटा कक्ष सञ्चालनमा ल्याइनेछ । भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडीमा बिक्री कक्ष विस्तार गर्ने तयारी गरिएको छ ।
हाल डिडिसीका उत्पादन मात्रै बिक्री गर्ने यस्ता कक्ष देशभर ३५ वटा सञ्चालनमा छन् ।
संस्थानले हाल काठमाडौँको बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ । निकट भविष्यमा पोखरामा पनि उद्योग सञ्चालन गर्ने तयारी छ ।
डिडिसीले हाल दैनिक ३५ हजार लिटर दूध सङ्कलन गरी प्रशोधनपश्चात् बजारमा पठाउँदै आएको छ ।






