सुनसरी– छठ पर्व नजिकिएसँगै सुनसरीका बजारमा पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ। विशेषगरी बाँसको चोयाबाट निर्माण गरिएका डालो, नाङ्लो, डोको, कोनिया र ढाकीको माग उच्च देखिएको छ।
तिहार सकिएलगत्तै छठको तयारीमा जुटेका सर्वसाधारण शनिबार अबेरसम्म बजारमा पूजाका सामग्री खरिद गर्न व्यस्त देखिएका थिए। छठ पूजामा बाँसबाट बनेका सामग्री प्रयोग गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले यस समयमा यस्ता सामग्रीको व्यापार बढ्ने गरेको व्यवसायी बताउँछन्।
फलफूल तथा पूजाका सामग्री राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग विशेष रूपमा बढी रहेको छ। रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीका अनुसार छठका तीन–चार दिनको अवधिमा मात्रै तीन लाख रुपैयाँभन्दा बढी मूल्यका बाँसका सामग्री बिक्री हुने गरेको छ।
उनले भोजपुर, धनकुटालगायत पहाडी जिल्लासहित भारतका विभिन्न स्थानबाट सामग्री ल्याएर बिक्री गर्दै आएको बताए। स्थानीय स्तरमा पर्याप्त उत्पादन नहुने भएकाले बाहिरी जिल्लाबाट तथा भारतबाट सामग्री आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
त्यस्तै, अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्रीको प्रयोगलाई विशेष महत्त्व दिइने भएकाले हरेक वर्ष यसको माग बढ्ने गरेको बताए। छठ पर्व आफूहरूजस्ता व्यवसायीका लागि मौसमी व्यापारको राम्रो अवसर बन्ने गरेको उनले उल्लेख गरे।
उनका अनुसार तिहार सकिएलगत्तै छठको तयारी सुरु हुने भएकाले बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गर्छ। स्थानीय स्तरमा सामग्री उत्पादन नहुने भएकाले भारतबाट खरिद गरी झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उनले बताए।
यसैबीच, छठ पर्वका अवसरमा पूजाका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा घाट निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको छ। स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहको सक्रियतामा सामूहिक रूपमा पूजास्थल तयार पारिएको हो।
सप्तकोसी नदी, बुढीखोला, सर्दुखोला, सेउतीखोला र सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ गरी घाट सजाइएको छ। पूजास्थलमा दीप, रङ्गोली तथा बत्तीको व्यवस्था मिलाइएको छ।
सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने परम्परा छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु हुने छठको मुख्य विधि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुनेछ।






