इलाम । इलामको सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महत व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले आफ्नै गाउँमा गाईपालन व्यवसाय सञ्चालन गरी आफू स्वरोजगार बन्नुका साथै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् ।
चार वर्षअघि ३० लाख रुपैयाँ लगानी गरेर ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच वटा दुहुना छन् भने बाँकी पाँच वटा चाँडै बियाउने अवस्थामा छन् । फार्ममा १४ वटा बाच्छीसमेत हुर्किरहेका छन् ।
महतले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूध प्रतिलिटर ५५ देखि ६० रुपैयाँका दरले नजिकैको सहकारीमा बिक्री गर्ने गरेका छन् । दूध बिक्रीबाट वार्षिक करिब ११ लाख रुपैयाँ आम्दानी हुने उनले बताए । यद्यपि, लगानी र लागतअनुसार दूधको मूल्य कम पाएको उनको गुनासो छ ।
गाईपालन व्यवसायबाट स्वरोजगार बनेका महतले फार्ममा दुई जना स्थानीय युवालाई खानबस्नको सुविधासहित मासिक १८ हजार रुपैयाँ तलब दिएर रोजगारी दिएका छन् ।
पशुपालनका लागि उनले ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो लगायतका विभिन्न प्रजातिका घाँस खेती गरेका छन् । गाईपालनसँगै उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस खेती र बाँकी क्षेत्रमा चियाखेतीसमेत गर्दै आएका छन् । गाईबाट उत्पादन हुने मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उनले बताए ।
गाउँमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महतको भनाइ छ । युवाहरू रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमै कृषि तथा पशुपालनमा लागेर स्वरोजगार बन्नुपर्नेमा उनले जोड दिएका छन् ।





