दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महत व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँमै गाईपालन व्यवसाय सञ्चालन गरेर उनी आफैँ स्वरोजगार बनेका छन् भने दुई जना स्थानीय युवालाई रोजगारीसमेत प्रदान गरेका छन् ।

चार वर्षअघि ३० लाख रुपैयाँ लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ स्थापना गरेका महतको फार्ममा अहिले १० माउ गाई छन् । तीमध्ये पाँच वटा गाईले दूध दिइरहेका छन् भने अन्य पाँच वटा बियाउने तयारीमा छन् । फार्ममा १४ वटा बाच्छीसमेत हुर्काइँदै छन् ।

महतले दैनिक ५० देखि ६० लिटरसम्म दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूध प्रतिलिटर ५५ देखि ६० रुपैयाँका दरले स्थानीय सहकारीमा बिक्री गर्ने गरेका छन् । दूध बिक्रीबाट वार्षिक करिब ११ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । तर, उत्पादन लागत र लगानीको तुलनामा दूधको मूल्य कम पाएको उनको गुनासो छ ।

गाईपालन व्यवसायबाट आफू स्वरोजगार बनेका महतले फार्ममा दुई जना स्थानीय युवालाई रोजगारी दिएका छन् । उनीहरूलाई खानबस्नको सुविधासहित मासिक १८ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएका छन् ।

पशुपालनका लागि महतले ३० रोपनी क्षेत्रफलमा सुपर नेपियर, अम्रिसोलगायत विभिन्न प्रजातिका घाँस खेती गरेका छन् । गाईपालनसँगै उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस खेती र बाँकी जग्गामा चियाखेतीसमेत गर्दै आएका छन् । गाईबाट उत्पादन हुने मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उनले बताए ।

गाउँमै बसेर पनि विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महतको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि युवाहरू विदेश पलायन हुनुभन्दा स्वदेशमै कृषि तथा पशुपालन व्यवसायमा लागेर आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिएका छन् ।