चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । जितसँगै कर्णालीले प्रतियोगिताको सुखद अन्त्य गरे पनि प्लेअफमा स्थान बनाउन भने सकेन । चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो ।

चितवनका उसामा मिरले अविजित २८ रन बनाए । त्यस्तै कामिल मिश्राले २५, कुशल मल्लले १८ तथा देव खनालले १४ रनको योगदान दिए ।

कर्णालीका लागि हुसैन तलातले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । पवन सर्राफ र मार्क वाटले समान दुई–दुई विकेट हात पार्दा सोमपाल कामीले एक विकेट लिए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीका हुसैन तलातले सर्वाधिक ५१ रन बनाउँदै अविजित रहे । अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।

चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले समान दुई–दुई विकेट लिए । सिकन्दर रजा र रिजन ढकालले एक–एक विकेट हात पारे ।

यस जितसँगै कर्णालीले प्रतियोगिताबाट बाहिरिनुअघि अन्तिम खेलमा चितवनलाई पराजित गर्दै सान्त्वना जित निकालेको छ ।