काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।
घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, राशिद खान, लोकेश बम र नन्दन यादव रहेका छन्।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।
प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन्। नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोलीसमेत सहभागी गराउन पाउने व्यवस्था छ। यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्ने तालिका छ।
दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ।
नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपसँगै एसिया कपका लागि समेत छनोट भएको थियो। प्रिमियर कपमा दोस्रो स्थान हासिल गरेको यूएई र तेस्रो भएको हङकङले पनि प्रतियोगितामा स्थान सुरक्षित गरेका थिए।





