काठमाडौं: अमेरिकामा हवाई सेवा लगातार तेस्रो दिन पनि प्रभावित भएको छ। आइतबार मात्रै देशभर १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ भएका छन्। उड्डयनसम्बन्धी तथ्याङ्क वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन्। शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए।
अमेरिकी यातायातमन्त्री सीन डफीले आइतबार एबीसीको कार्यक्रम ‘दिस विक’मा बोल्दै सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा व्यक्त गरेका छन्। उनले घटनामा साइबर आक्रमण वा कुनै दुर्भावनापूर्ण गतिविधि भएको प्रमाण नरहेको बताए। यद्यपि, समस्या उत्पन्न हुनुको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन।
शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले देशव्यापी ग्राउन्ड स्टप जारी गरेपछि झन्डै पाँच घण्टासम्म अधिकांश प्रस्थान गर्ने उडान रोकिएका थिए। यो सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछिको सबैभन्दा लामो अवरोध थियो। अधिकारीहरूका अनुसार एफएएका ठेकेदार कम्पनी एलथ्रीह्यारिसले नयाँ राउटर जडान गर्दा हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या उत्पन्न भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि थप बजेट आवश्यक रहेको बताएका छन्। यातायातमन्त्री डफीले यसअघि माग गरिएको ३० अर्ब डलरलाई बढाएर ५० अर्ब डलर पुर्याउनुपर्ने बताएका छन्। गत वर्ष संसद्ले १२ अर्ब ५० करोड डलर स्वीकृत गरे पनि त्यसमध्ये ११ अर्ब डलर अझै खर्च नभएको भन्दै केही सांसदहरूले थप बजेटको औचित्यमाथि प्रश्न उठाएका छन्।
डफीका अनुसार गत वर्ष स्वीकृत रकम निश्चित क्षेत्रका लागि मात्र थियो र नयाँ सफ्टवेयर खरिदका लागि बजेट समावेश थिएन। हवाई पूर्वाधार सुधारका लागि निजी क्षेत्रको लगानी पनि आवश्यक रहेको अन्तर्राष्ट्रिय विमानस्थल परिषद्का महानिर्देशक जस्टिन एर्बाचीले बताएका छन्।






