सर्लाही । सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर पीडित परिवारसँग भेटघाट गर्दै सभामुख अर्यालले कानुनी व्यवस्थाअनुसार राहत उपलब्ध गराउनुका साथै थप सहयोगका लागि पनि पहल गर्ने बताएका हुन्।
उनले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य गरेर पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा निर्णय लिइने बताए। कानुनमा पर्याप्त राहतको व्यवस्था नभए अन्य निकायमार्फत सहयोग जुटाउन पहल गर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको उच्च शिक्षासम्मको पठनपाठन तथा पालनपोषणको जिम्मेवारीमा सरकारले स्पष्ट पहल गर्ने प्रतिबद्धता पनि जनाए। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन सरकारले ठोस कदम चाल्नुपर्ने बताए।
गत बिहीबार छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको रिजर्भ विद्युतीय गाडी मकवानपुरको भिमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटनामा परेको थियो। सडकबाट करिब ५०० मिटर तल खसेर भएको दुर्घटनामा गाडीमा सवार सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जना उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार जारी छ।
सभामुखसँगको भेटमा पीडित परिवारले घटनाको अवस्थाबारे जानकारी गराउँदै उचित राहत र सहयोगका लागि पहल गरिदिन आग्रह गरेका थिए। अभिभावक गुमाएका बालबालिका तथा परिवारको एकमात्र सहारा गुमाएका आश्रित सदस्यहरू आर्थिक र पारिवारिक संकटमा परेको उनीहरूको गुनासो थियो।
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले मृतकको दाहसंस्कार खर्चबापत पालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको जानकारी दिए।
पीडित परिवारलाई भेट्न सभामुख अर्यालसँगै सर्लाही क्षेत्र नम्बर १ की सांसद नीतिमा कार्की, क्षेत्र नम्बर २ का सांसद रविन महतो, क्षेत्र नम्बर ३ का सांसद नरेन्द्र साह कलवार, सांसद रहवर अन्सारी तथा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलगायत सुन्दरपुर पुगेका थिए।





