काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी नोभेम्बर २२ र २३ (मंसिर ६ र ७) गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।
भ्रमणका क्रममा नेपाल र भारतबीच लामो समयदेखि छलफलमा रहेका विभिन्न द्विपक्षीय मुद्दामा प्रगति गर्ने अपेक्षा गरिएको छ। विशेषगरी नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि भारतीय हवाई क्षेत्र हुँदै थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने नेपालको माग प्रमुख एजेन्डाका रूपमा रहने बताइएको छ।
भ्रमणको पछिल्लो कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल नोभेम्बर २२ मा नयाँदिल्ली पुग्नेछ। प्रतिनिधिमण्डल नोभेम्बर २३ मा स्वदेश फर्कने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच ३० मिनेट लामो एक्लाएक्लै भेटवार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने भ्रमणको तयारीमा संलग्न एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
भेटवार्तामा आर्थिक सहयोग प्याकेज, हवाई कनेक्टिभिटी तथा नेपाल–भारतबीचका अन्य द्विपक्षीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपालले विशेषगरी अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन र आफ्ना विमानस्थलको उपयोगिता बढाउन भारतीय हवाई क्षेत्रबाट थप प्रवेश मार्ग उपलब्ध गराउन लामो समयदेखि आग्रह गर्दै आएको छ।





