तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा र कसेरी सामुदायिक वनको अतिक्रमित १ दशमलव ७५ हेक्टर क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ।

डिभिजन वन कार्यालय तनहुँले अतिक्रमित क्षेत्र पहिचान गरी रेखाङ्कन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा टिमुरका बिरुवा रोपेको हो।

कार्यालय प्रमुख मनोज रानाभाटका अनुसार अतिक्रमण हटाएर खाली गराइएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुरखेती सुरु गरिएको हो। वन क्षेत्रको अतिक्रमण नियन्त्रण र संरक्षण गर्नुका साथै टिमुरखेतीमार्फत भविष्यमा स्थानीयस्तरमै आम्दानीको स्रोत विकास गर्ने लक्ष्य राखिएको उनले बताए।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार तनहुँमा ६२४ सामुदायिक वन रहेका छन्। ती वनले ६४ हजार ८४२ दशमलव ४८ हेक्टर क्षेत्रफल ओगटेका छन्।

त्यस्तै, जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन, ३० दशमलव ६२ हेक्टरमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन्। जिल्लाको राष्ट्रिय वन क्षेत्रफल भने १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको कार्यालयले जनाएको छ।

वन क्षेत्रको संरक्षण, व्यवस्थापन र अतिक्रमण नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको प्रमुख रानाभाटले बताए।