कात्तिक १४, कास्की ।
जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार आठ सय ७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार रु ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ ।
खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय सहजीकरण समितिका सदस्यसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
कास्कीको निर्वाचन क्षेत्र नं ३ मा पाँच सय ४५ आवास सङ्ख्या स्वीकृत गरिएको छ । पोखरा महानगरपालिकाका ११ वडामा एक सय ८९, माछापुच्छ«े गाउँपालिकामा एक सय ७३ र अन्नपूर्ण गाउँपालिकामा एक सय ८३ आवास सङ्ख्या स्वीकृत गरिएको छ ।
त्यसैगरी क्षेत्र नं १ मा रुपा गाउँपालिकामा तीन सय ७०, मादीमा दुई सय तीन तथा पोखरा महानगरका ११ वटा वडामा दुई सय ३३ गरी आठ सय ६ आवास स्वीकृत गरिएको छ । निर्वाचन क्षेत्र नं २ मा पोखरा महानगरका वडाहरु पर्दछन् । यस क्षेत्रमा पाँच सय २३ आवास स्वीकृत गरिएको छ ।
उनका अनुसार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहहरुले वडा कार्यालयमार्फत निवेदन माग गर्ने र वडाहरुबाट सङ्कलित निवेदन कार्यविधिअनुसार लाभग्राही छनोट गर्न सर्भे गरिनेछ । सर्भे पश्चात स्थानीय तहले लक्षित वर्ग तथा परिवारको सूची तयार गरी लाभग्राही छनोटका लागि सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमा पठाउने र इकाइले सुरक्षित नागरिक आवास सहजीकरण समितिमा पेश गरी त्यसले अनुमोदन गर्ने कार्यविधिमा उल्लेख छ ।
सङ्घीय सरकारको शहरी विकास मन्त्रालयले लाभग्राहीको अनुदान रकम सिधै स्थानीय तहमा पठाउने छ ।
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका सांसद सहजीकरण समितिको अध्यक्ष रहने प्रावधान छ । त्यसैगरी समन्वय समितिका प्रमुख सदस्य, निर्वाचन क्षेत्रभित्रको स्थानीय तहका प्रमुख सदस्य तथा सङ्घीय आयोजना कार्यान्वयन इकाइ प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।
सङ्घीय आयोजनाका प्रमुख झपटबहादुर थापाले सबै स्थानीय तहका वडाहरुमा निवेदन सङ्कलन भइरहेको जानकारी दिए । माग र सर्भेका आधारमा यस वर्ष छुटेका लाभग्राहीलाई अर्को वर्ष अनुदान रकम उपलव्ध गराइने छ ।
लाभग्राहीलाई अनुदान रकम दुई किस्तामा उपलव्ध गराइने जनाइएको छ । सम्झौता लगत्तै जस्तापाता खरीदका लागि पहिलो किस्ता रु ३० हजार र सम्पन्न भएपश्चात बाँकी रकम दिइने थापाले जानकारी दिए । (रासस)







