बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव

काठमाडौँ – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चास्थित १ नम्बर पुलसम्मको सडक दुई लेनमा विस्तार गरिने भएको छ । २० दशमलव ६ किलोमिटर लामो उक्त सडकखण्डलाई अधिकतम १० मिटरसम्म चौडा बनाउने तयारी गरिएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सडक विस्तारका लागि तीन अर्ब ७९ करोड ७८ लाख ५०० रुपैयाँ लागत अनुमान गरिएको छ । हाल उक्त सडकको मुख्य कालोपत्रे भागको चौडाइ करिब ५ दशमलव ५ मिटर मात्रै छ ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार सडक विस्तारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम पनि अन्तिम चरणमा पुगेको छ । आवश्यक बजेट सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्रोत प्रस्ताव गरिएको उनले जानकारी दिए ।

सडक विस्तारका लागि प्रतिकिलोमिटर करिब १८ करोड ६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाइने र चालु वर्षभित्रै विस्तारको काम सुरु गर्ने लक्ष्य रहेको योगेशले बताए । निर्माण सुरु भएको तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिनेछ ।

धुलिखेलदेखि भकुण्डेबेँशीसम्म सडक विस्तार गर्दा सडक आसपासका रुख कटान गर्नुका साथै केही स्थानमा मोड सुधारका लागि घरसमेत हटाउनुपर्ने अवस्था छ । यसले निर्माण प्रक्रिया सुरु हुन केही समय लाग्न सक्ने कार्यालयले जनाएको छ । सडकको दायाँबायाँ १५ मिटरभित्र पर्ने संरचना तथा जग्गाको मुआब्जा भने वितरण भइसकेको योगेशले बताए ।

विस्तार गर्न लागिएको सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्दछ । सडक विस्तारपछि सवारीसाधनको गति प्रतिघण्टा ३० किलोमिटरबाट ६० किलोमिटरसम्म पुर्‍याउन सकिने अपेक्षा गरिएको छ । यसले ठूला सवारीसाधनको आवागमन सहज बनाउनुका साथै नारायणगढ हुँदै लामो दूरी घुमेर काठमाडौँ आउनुपर्ने सवारीसाधनलाई बीपी राजमार्गमार्फत छोटो दूरीबाट राजधानी प्रवेश गर्न सहज हुनेछ ।

सडक विस्तारका क्रममा सहज स्थानमा पर्खाल निर्माण र भौगोलिक रूपमा अप्ठ्यारा स्थानमा पहाडको भित्तो काटेर सडक चौडा गरिनेछ । यसैगरी, बाढीपहिरोबाट क्षति पुगेका रोशी क्षेत्र र सिन्धुलीको नेपालथोक आसपासका सडकखण्ड पुनर्निर्माण गर्दा नाला र ढलसहित ११ मिटर चौडाइ तथा सात मिटर मुख्य कालोपत्रे भाग बनाउने योजना अघि बढाइएको छ ।

यसअघि २०८१ असोजमा आएको बाढीपहिरोले भकुण्डेबेँशीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सवारी आवागमन सञ्चालन गरिएको थियो । अहिले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनर्निर्माण तीव्र गतिमा भइरहेको कार्यालयले जनाएको छ ।

क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । काभ्रेपलाञ्चोकका तीन खण्डका लागि सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक खण्डका लागि एक अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ ।

बाढीपहिरोपछि भकुण्डेबेँशीदेखि नेपालथोकसम्मको सडकलाई दुई लेनमा पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको थियो । सोही योजनाअनुसार धुलिखेलदेखि भकुण्डेबेँशीसम्मको खण्डलाई पनि दुई लेन बनाउने प्रस्ताव माथिल्लो निकायबाट स्वीकृत भएको योगेशले बताए ।

धुलिखेलदेखि नेपालथोकसम्मको करिब ५२ किलोमिटर सडक दुई लेनमा विस्तार भएपछि नेपालथोकबाट मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्म पुग्न सहज हुनेछ । नेपालथोकदेखि खुर्कोटसम्मको पुरानो बीपी राजमार्गलाई भौगोलिक कठिनाइका कारण दुई लेनमा विस्तार गर्न चुनौतीपूर्ण रहेकाले नेपालथोकमा सुनकोशी नदीमाथि दुई लेनको पक्की पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण सुरु भएको थियो । विभिन्न खण्डमा विभाजन गरी निर्माण गरिएको उक्त राजमार्ग २०७२ असार १८ गते जापान सरकारले औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।