आजदेखि पोखरामा ‘आरयू फेस्ट–२०२६’

पोखरा । फोहोरलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्दै हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित पोखरामा आरयू फेस्ट २०२६ आयोजना हुने भएको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा आगामी मङ्सिर २ र ३ गते महोत्सव आयोजना हुन लागेको हो । ‘रिथिंक २०२६ : फ्रम वेस्ट टु वर्थ’ नारासहित महोत्सवको दोस्रो संस्करण हुन लागेको हो ।

पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने महोत्सवमा विभिन्न प्रदर्शनी तथा जानकारीमूलक स्टलहरू राखिनेछन् । रिसाइकल तथा अपसाइकलमार्फत हरित रोजगारी सिर्जना गर्ने परियोजनाअन्तर्गत सञ्चालनमा रहेका आरयू उद्यमीहरूले उत्पादन गरेका सामग्री तथा नवीन अभ्यास प्रदर्शन गरिनेछ ।

महोत्सवमा दिगो फोहोर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा समेत जानकारी दिइनेछ । यसले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै फोहोरलाई पुनः प्रयोग र प्रशोधनमार्फत आर्थिक अवसरमा बदल्ने सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवले रिसाइकलर, अपसाइकलर, पर्यटन व्यवसायी, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य तथा सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, पुनः प्रयोग र प्रशोधनमा आधारित उद्यमहरूलाई बजारसँग जोड्दै उत्पादित सामग्रीको बिक्रीका लागि समेत अवसर सिर्जना गर्नेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवले आरयू उद्यमहरूको पहिचान र बजार पहुँच विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार यसबाट रिसाइकलर, अपसाइकलर, निजी क्षेत्र र पर्यटन क्षेत्रबीचको सहकार्य थप मजबुत हुनेछ ।

त्यस्तै, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले महोत्सव विद्यार्थीका लागि सिकाइ तथा अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर हुने बताए । पोखरामा ‘ग्रीन भेन्चर जोन’ को अवधारणा अघि बढाउन पनि महोत्सव उपयोगी हुने उनको भनाइ छ । आरयू उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानीकर्तासँग जोड्ने योजना रहेको उनले जानकारी दिए ।

परियोजनाले सन् २०२५ मा गरेको प्रतिबद्धताअनुसार तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । यसका साथै विस्तारित उत्पादकको दायित्वसम्बन्धी नियामकीय अनुगमन र संवादलाई पनि प्राथमिकता दिइएको छ ।

पोखराको वार्षिक कार्यक्रमका रूपमा आरयू फेस्टलाई स्थापित गर्दै हरित उद्यमशीलता, दिगो फोहोर व्यवस्थापन र वातावरण संरक्षणको साझा मञ्च बनाउने आयोजकको लक्ष्य छ ।