कात्तिक १४, काठमाडौं ।
फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडकमा व्यापक चाप देखिएको समाचार संस्था बिबिसीले जनाएको छ ।
त्यहाँका स्थानीय सञ्चार माध्यमहरूका अनुसार इल ड फ्रान्स क्षेत्रमा बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको छ । कोरोनाभाइरस महामारीसँग जुझ्न त्यहाँ शुक्रवार मध्यरातबाट प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएका छन् ।
सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिएको छ । राष्ट्रपति एम्यानुअल माक्रोँले फ्रान्स ‘कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो पहिलोभन्दा कडा हुनेमा सन्देह नरहेको’ बताएका छन् ।
फ्रान्समा गत एप्रिल महिनायता अहिले कोरोनाभाइरस सङ्क्रमितको दैनिक रूपमा मृत्यु हुने सङ्ख्या उच्च दरमा पुगेको छ । त्यहाँ बिहीवार सङ्क्रमणका ४७ हजार ६ सय ३७ नयाँ घटना देखिएका छन् । यस अवधिमा दुई सय ५० जनाको मृत्यु भएको छ ।
लकडाउनको समय गाउँहरूमा बिताउन प्यारिसवासीहरूले सहर छाडेको फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन् । गत मार्चमा पहिलो पटक लकडाउन लागु गरिँदा पनि यसै गरी ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिएका थिए ।
फ्रान्समा हाल कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरिएको छ । युरोपका थुप्रै मुलुकहरूमा सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ । फ्रान्समा अहिले दैनिक करिब ५० हजार नयाँ सङ्क्रमितहरू भेटिने गरेको पछिल्लो विवरणले देखाउँछ ।
प्यारिसमा सघन उपचारमा प्रयोग हुने ७० प्रतिशत शैय्याहरू सङ्क्रमितहरूले भरिएका छन् ।
बुधवार राष्ट्रपति माक्रोँले घोषणा गरेका प्रतिबन्धका धेरैजसो व्यवस्थाहरू मार्चमा लगाइए जस्तै नै छन् ।







