बाल हिंसा अन्त्यका लागि मन्त्री बादीले गरिन् सातबुँदे प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न नेपालका तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छन्।

फिलिपिन्सको मनिलामा आयोजित बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बादीले नेपालको प्रतिबद्धता सार्वजनिक गरेकी हुन्।

सम्मेलनमा उनले बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि नेपालले कानुनी, नीतिगत र संस्थागत सुधारका प्रयासलाई निरन्तरता दिँदै आएको बताइन्। उनले प्रस्तुत गरेका सात प्रतिबद्धतामध्ये तीनवटा अद्यावधिक, तीनवटा नयाँ र एउटा पुरानो प्रतिबद्धताको पुनः पुष्टि गरिएको छ।

मन्त्री बादीले सन् २०२८ सम्म अनलाइन दुर्व्यवहारसहित बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाबाट संरक्षण गर्न कानुन, नीति तथा राष्ट्रिय मापदण्डलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

त्यस्तै, सन् २०३० सम्म देशका सबै ७५३ स्थानीय तहमा सक्रिय बाल संरक्षण संयन्त्र स्थापना गर्ने लक्ष्य प्रस्तुत गरिन्। यसमार्फत जोखिममा रहेका बालबालिकालाई समयमै सहज र एकीकृत सेवा उपलब्ध गराउने नेपालको योजना रहेको उनले बताइन्।

बाल संरक्षणसम्बन्धी नीति तथा कार्यक्रमलाई तथ्यमा आधारित बनाउन विभिन्न समूहअनुसार वर्गीकृत तथ्याङ्कसहितको एकीकृत बाल संरक्षण सूचना प्रणाली सुदृढ गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। साथै, यस क्षेत्रमा प्रभावकारी बजेट विनियोजन र जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

बालबालिकाविरुद्ध हुने हिंसा रोकथाम तथा सम्बोधनका लागि सरकारका तीनै तह र सम्बन्धित क्षेत्रबीच समन्वय बढाउने, बाल हेरचाह प्रणालीमा सुधार गरी परिवारमा आधारित हेरचाहलाई प्राथमिकता दिने तथा जोखिममा रहेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयलाई पनि नेपालले प्राथमिकतामा राखेको मन्त्री बादीले स्पष्ट पारिन्।

यसैगरी, बालविवाह रोकथामका लागि बहुक्षेत्रीय प्रयासलाई तीव्रता दिने र बालविवाहबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक समग्र सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले प्रस्तुत गरिन्।

विद्यालयलाई बालबालिकाका लागि सुरक्षित र बालमैत्री वातावरणका रूपमा विकास गर्ने लक्ष्यसहित सन् २०३० सम्म सबै विद्यालयमा बाल संरक्षणसम्बन्धी मापदण्ड लागू गर्ने योजना पनि सम्मेलनमा सार्वजनिक गरियो। विद्यालयमा बालबालिकाले हिंसाका घटना उजुरी गर्न तथा सूचना दिन सक्ने सहज संयन्त्र स्थापना गर्नुका साथै विद्यालयभित्र र वरपर हुने हिंसा कम्तीमा ५० प्रतिशतले घटाउने लक्ष्य नेपालले लिएको छ।

नेपालले अघि सारेका यी सात प्रतिबद्धताले बाल संरक्षणलाई कानुनी सुधारमा मात्र सीमित नराखी स्थानीय तहको सेवा प्रवाह, परिवारमा आधारित हेरचाह, बालविवाह नियन्त्रण, विद्यालयको सुरक्षा, तथ्याङ्क व्यवस्थापन र अन्तरसरकारी समन्वयसँग जोडेको छ।

मन्त्री बादीको सम्बोधनले प्रत्येक बालबालिकाले हिंसामुक्त, सुरक्षित र सम्मानजनक वातावरणमा हुर्कन पाउने अधिकार सुनिश्चित गर्ने नेपालको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ।