काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ ।
प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ४९ मा भएको व्यवस्थाअनुसार आगामी मङ्सिर मसान्तभित्र बक्यौता शुल्क, दस्तुर वा कर र त्यसको एक प्रतिशत थप रकम दाखिला गरेमा जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने जनाएको छ ।
प्राधिकरणका अनुसार निर्धारित शुल्क, दस्तुर वा कर दाखिला नगरेका, कम रकम दाखिला गरेका वा आवश्यक विवरण पेस नगरेका दूरसञ्चार सेवा प्रदायकले उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, सम्बन्धित कार्यालयबाट कर, शुल्क वा दस्तुर निर्धारण भई बक्यौता कायम भएका तथा अदालत वा अन्य न्यायिक निकायमा मुद्दा विचाराधीन रहेका सेवा प्रदायकले समेत यो सुविधा लिन सक्नेछन् । त्यसका लागि सम्बन्धित मुद्दा फिर्ता लिई निर्धारण भएको रकम र त्यसको एक प्रतिशत थप रकम बुझाउनुपर्नेछ ।
प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई मङ्सिर मसान्तभित्र आवश्यक रकम दाखिला गरी आर्थिक ऐनले प्रदान गरेको जरिवाना तथा ब्याज मिनाहाको सुविधाको लाभ लिन आग्रह गरेको छ ।






