काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको सुरक्षा जाँच पार गरिसकेका एक चिनियाँ नागरिक एक किलोभन्दा बढी सुनसहित पक्राउ परेका छन्।
नेपाल प्रहरीले हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार चीनको जिलिन प्रान्तका स्थायी बासिन्दा वाङलाई मंगलबार राति १ बजेर २५ मिनेटमा विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। उनी नेपाल वायुसेवा निगमको आरए ४१० नम्बरको उडानमार्फत हङकङबाट काठमाडौँ आएका थिए।
विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको जाँच प्रक्रिया पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।







