काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । ओपनर कमिल मिशाराको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटर खेलमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

अब चितवनले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित शतक र कप्तान रवि बोपाराको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । जवाफमा २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो ।

काठमान्डुका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । भीम शार्कीले अविजित ३० तथा सहान अराचिगेले २४ रन जोडे । रासिद खानले १२ रन बनाए ।

काठमान्डुले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो । ओपनर साहिल पटेल २ रनमा आउट भए भने साम हिजलेटले ३ रन मात्रै बनाउन सके । बोसिस्टो र रासिद खानले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे पनि त्यसपछि काठमान्डुको इनिङ्स सम्हालिन सकेन ।

एक समय ९२ रनमा ६ विकेट गुमाएको काठमान्डुका लागि भीम शार्कीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३ छक्कासहित अविजित ३० रन बनाए । तर, उनको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन दिँदै ३ विकेट हात पारे । कुशल मल्ल र सलाउद्दिन खानले समान एक विकेट लिए ।

मिशाराको अविजित १२० रन

यसअघि चितवनका लागि कमिल मिशाराले आक्रामक ब्याटिङ गर्दै अविजित १२० रन बनाए । उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे । योसँगै उनले आफ्नो टी–२० करियरको तेस्रो शतक पूरा गरे ।

मिशारालाई कप्तान रवि बोपाराले उत्कृष्ट साथ दिए । बोपाराले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाए ।

चितवनले सुरुवात भने राम्रो गर्न सकेन । चौथो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल र डाविड मलानलाई लगातार आउट गरेपछि चितवन २२ रनमा २ विकेट गुमाएको अवस्थामा पुगेको थियो । देवले १७ रन बनाए भने मलान पहिलो बलमै क्याच आउट भए ।

त्यसपछि मिशारा र बोपाराले तेस्रो विकेटका लागि १५४ रनको शतकीय साझेदारी गर्दै चितवनको इनिङ्स सम्हाले । यो साझेदारी चितवनका लागि एनपीएलमा अहिलेसम्मकै ठूलो हो भने प्रतियोगिताकै तेस्रो ठूलो साझेदारी बनेको छ ।

१९औँ ओभरको तेस्रो बलमा रासिद खानले बोपारालाई बोल्ड गर्दै उक्त साझेदारी तोडेका थिए । त्यसपछि आएका विवेक यादवले ३ बलमा २ चौकासहित ८ रन बनाएर आउट भए ।

यस खेलमा बनाएको २०४ रन चितवनको एनपीएल इतिहासकै उच्च योगफल हो । यसअघि यही सिजन लिग चरणमा काठमान्डुविरुद्ध चितवनले बनाएको १७० रन नै टोलीको उच्च स्कोर थियो । उक्त खेलमा चितवन १० रनले पराजित भएको थियो ।

काठमान्डुका करण केसी र रासिद खानले समान २ विकेट लिए ।