यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । देशमा हाल पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका केही स्थानमा आंशिक बदली हुनुका साथै तराईका भूभाग, उपत्यका र खोँचमा तुवाँलो तथा हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचका अधिकांश स्थानमा बिहान तुवाँलो र हुस्सु देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।