काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
लिग चरणमा दोस्रो स्थान हासिल गरेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो । यता, एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराएको चितवन उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
लिग चरणमा सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोर्दै १० अंक जोडेको थियो । चितवन भने तीन खेलमा जित, तीनमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा सात अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।
लिग चरणको प्रदर्शनमा सुदूरपश्चिम अगाडि देखिए पनि पछिल्ला खेलमा चितवनले उत्कृष्ट लय समातेको छ । काठमाडौंविरुद्ध ६१ रनको फराकिलो जित निकाल्दै चितवनले आफ्नो बलियो पक्ष प्रस्तुत गरिसकेको छ ।
एनपीएल इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म तीन खेल भएका छन् । जसमा सुदूरपश्चिमले दुई र चितवनले एक खेल जितेका छन् । पहिलो संस्करणमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हराएको थियो भने दोस्रो संस्करणमा सुदूरपश्चिमले ४९ रनको जित निकाल्दै बदला लिएको थियो ।
तेस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले चितवनलाई पराजित गरेको थियो । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।
चितवनका लागि पछिल्लो खेलमा श्रीलंकाली ब्याटर कमिल मिशाराको प्रदर्शन मुख्य आकर्षण बनेको छ । उनले काठमाडौं गोर्खाजविरुद्ध ५९ बलमा अविजित १२० रन बनाएका थिए । यो एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर हो । अनुभवी ब्याटर रवि बोपाराले पनि उक्त खेलमा ५३ रन बनाउँदै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
चितवनको ब्याटिङमा डाभिड मलान र अर्जुन साउदको भूमिका पनि महत्त्वपूर्ण हुनेछ । बलिङतर्फ रिजन ढकाल र कमलसिंह ऐरी टोलीका प्रमुख हतियार हुन् । रिजनले काठमाडौंविरुद्ध चार विकेट लिएका थिए भने कमलसिंहले प्रतियोगितामा १२ विकेट हात पारिसकेका छन् ।
यता, सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी प्रमुख खेलाडी हुन् । उनले प्रतियोगितामा २०२ रन बनाइसकेका छन् । त्यस्तै, स्कट कुगेलेन, अनिल खरेल, हेमन्त धामी र दीपेन्द्रको बलिङले टोलीलाई सन्तुलित बनाएको छ । अनिल र कुगेलेनले समान १० विकेट लिएका छन् ।
यद्यपि, पहिलो क्वालिफायरमा लुम्बिनीसँग सुदूरपश्चिमको ब्याटिङ कमजोर देखिएको थियो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमा आठ विकेट गुमाएर १०५ रनमा समेटिएको थियो । त्यसैले चितवनविरुद्ध ब्याटिङ सुधार गर्नु सुदूरपश्चिमका लागि आवश्यक देखिन्छ ।
यस खेलको विजेता शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग भिड्नेछ । लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।
चितवनका लागि पहिलो पटक एनपीएल फाइनल पुगेर इतिहास रच्ने अवसर छ भने सुदूरपश्चिम दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि उपाधि यात्राको निर्णायक प्रतिस्पर्धा हुनेछ ।






