चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा एक लाख १२ हजार ४८ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म मुस्ताङ पुग्ने पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका छन् । यस अवधिमा विदेशी पर्यटकको तुलनामा नेपाली पर्यटक तीन हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी देखिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुग्ने नेपाली पर्यटकमा ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला रहेका छन् । त्यस्तै, विदेशी पर्यटकमध्ये ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला र सात जना अन्य समूहका रहेका छन् ।

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ पर्यटक मुस्ताङ पुगेका थिए । दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिकमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको प्रहरी निरीक्षक बस्यालले बताए ।

उनका अनुसार असोजमा भारी वर्षाका कारण बेनी–जोमसोम सडकमार्ग दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा पर्यटक आगमन प्रभावित भएको थियो । सडक सञ्चालनमा आएपछि तथा चाडपर्वको बिदाका कारण कात्तिकमा पर्यटकको सङ्ख्या बढेको हो ।

यसैगरी, पहिलो चौमासिकमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ भित्रिएका छन् । प्रहरीको तथ्याङ्कअनुसार साउनमा ४१ हजार ७४७, भदौमा सात हजार ९८२, असोजमा चार हजार ९७३ र कात्तिकमा १५ हजार ४४ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए ।

यसअघि आर्थिक वर्ष २०८२/८३ मा बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।