सुनसरी । नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली आर्मीलाई पराजित गरेको हो । एपीएफले खेलको पहिलो हाफमै दुई गोल गर्दै जित सुनिश्चित गरेको थियो ।
खेलको नवौँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको ४४औँ मिनेटमा कप्तान गीता राणाले अर्को गोल थपेपछि एपीएफले २–० को अग्रता बनाएको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गीता राणा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
यसअघि क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपीएफले सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, आर्मीले बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि फाइनलमा एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।





