काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन गृहमन्त्री गुरुङ कात्तिक २७ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई प्रस्थान गरेका थिए । उनको भ्रमण टोलीमा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले र स्वकीय सचिव जेम्स कार्की सहभागी थिए ।
विश्वभरका प्रहरी प्रमुख तथा सुरक्षा विज्ञहरूको सहभागिता रहने उक्त सम्मेलनमा सुरक्षा चुनौती, आधुनिक प्रविधि र प्रहरी सेवाको प्रभावकारिताबारे छलफल भएको थियो । यद्यपि, यसपटक नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) भने सम्मेलनमा सहभागी भएनन् । प्रहरीको प्रतिनिधित्व गर्दै एसएसपी ऋषिराम कँडेलको नेतृत्वमा डीएसपी गोविन्द राउत र इन्स्पेक्टर देवराज काफ्ले कात्तिक २९ गते यूएई पुगेका थिए ।
नोभेम्बर १६ देखि १८ अर्थात् कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म सञ्चालन भएको सम्मेलनअघि कात्तिक २८ गते गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमण गरी त्यहाँका अधिकारीहरूसँग छलफल गरेका थिए । सोही दिन उनले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग पनि भेटवार्ता गरेका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा सुरक्षा प्रविधि, ‘फेसलेस पुलिसिङ’ र बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानीका विषयमा छलफल भएको थियो । तर, ऊर्जा मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने बूढीगण्डकी आयोजनामा लगानीको विषय गृहमन्त्रीको भ्रमणका क्रममा उठाइएपछि भ्रमणको प्राथमिकतामाथि केही प्रहरी अधिकारीले प्रश्न उठाएका छन् ।
यसैबीच, भ्रमणका क्रममा गृहमन्त्री गुरुङ दुबईको प्रसिद्ध सुन बजार ‘गोल्ड सुक’ मा सुन छनोट गर्दै गरेको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सम्मेलनमा सहभागिताबाहेक उनले दुबईका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्नुका साथै त्यहाँ बसोबास गर्दै आएका नेपाली युवाहरूसँग पनि भेटघाट गरेका थिए ।






