वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका आरोपितहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका अनुसार वैदेशिक रोजगार विभागले फरार आरोपितहरूको विवरण संकलन गरी नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्राचार गर्ने तयारी गरेको छ ।

विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो । सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआए बैंक खाता रोक्का गर्नुका साथै यात्रा अनुमतिसम्बन्धी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको थियो ।

मन्त्री यादवका अनुसार सूचनामा उल्लेखित म्यादभित्र सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण तयार पारेर आगामी मङ्सिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी भइरहेको छ ।

यसका लागि विभागले सम्बन्धित शाखालाई फरार आरोपितहरूको सूची तयार गर्न र बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ ।

३५ दिने समयसीमा पूरा भएपछि फरार आरोपितहरूको आर्थिक कारोबार नियन्त्रण गर्ने उद्देश्यले बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने मन्त्री यादवले बताएका छन् ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको नाममा ठगी गरी फरार रहेका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा ल्याउन यो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगारसम्बन्धी ठगी नियन्त्रण गर्ने, पीडितलाई न्याय दिलाउने र दोषीलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित मन्त्रालय र विभागले उक्त प्रक्रिया अघि बढाएका हुन् ।