काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।
नेपालका लागि आजको खेल विशेष महत्वको छ । यो नेपालको १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग निराशाजनक प्रदर्शन गरेको थियो । उक्त खेलमा नेपाल २६ रनमै समेटिँदै पराजित भएको थियो । यता यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो ।
नेपाल र यूएईबीच अहिलेसम्म २० ओडीआई खेल भएका छन् । जसमा नेपालले १२ खेल जितेको छ भने आठ खेलमा हार बेहोरेको छ । यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै ओडीआई खेल खेलेको छ ।
नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान सुरक्षित गरेको थियो ।
हालसम्म खेलेका ९९ ओडीआई खेलमध्ये नेपालले ४९ खेलमा जित निकालेको छ । ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन ।
आज यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो १००औँ ओडीआई खेललाई ५०औँ जितसँगै ऐतिहासिक बनाउन सक्नेछ ।






