कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ– नेपाल–चीन सीमा नाका कोरलाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्षभरिमा यस नाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन आयात भएकामा चालु वर्षको पहिलो चार महिनामै उक्त सङ्ख्या दोब्बरभन्दा बढी पुगेको हो। छोटो अवधिमा यति ठूलो सङ्ख्यामा इभी आयात भएको यो पहिलो घटना भएको भन्सार कार्यालयले जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि विद्युतीय सवारीसाधनलगायत अन्य मालसामान कोरलानाका हुँदै आयात हुने क्रम बढेको हुन सक्ने भन्सार अधिकृत अमिन्द्र सिंहले बताए।

उनका अनुसार चालु आर्थिक वर्षको साउनमा १००, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्।

यद्यपि, आयात भएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन भने चुनौती देखिएको छ। जोखिमपूर्ण सडक र दक्ष चालकको अभावका कारण समस्या भएको भन्सार प्रमुखको भनाइ छ। यही समस्याले गर्दा मुस्ताङ भन्सारबाट जाँचपास भएर गन्तव्यतर्फ लागेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै सडकमा अलपत्र अवस्थामा रहेका छन्।

चार महिनामै १२ अर्ब ५५ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य नौ अर्ब रुपैयाँ रहेकोमा चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व उठेको भन्सार अधिकृत सिंहले जानकारी दिए।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चीनबाट ३० अर्ब नौ करोड नौ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्।

यस नाकाबाट मुख्य रूपमा विद्युतीय सवारीसाधन, लत्ताकपडा, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, निर्माण सामग्री, फलफूल तथा खाद्यान्न आयात हुने गरेको छ।

त्यसैगरी, सोही अवधिमा कोरलानाका हुँदै नेपालबाट २९ करोड ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान चीनतर्फ निर्यात भएका छन्। नेपालबाट मुख्य रूपमा हस्तकलाका सामग्री तथा स्वदेशी उत्पादन निर्यात हुने गरेको भन्सार अधिकृत सिंहले बताए।

(रासस)