काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय क्रिकेट खेलमा नेपालले उत्कृष्ट बलिङ र चुस्त फिल्डिङ गर्दै विपक्षी टोलीलाई १२१ रनमै समेटेको छ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले यूएईलाई ३९.५ ओभरमा अलआउट गरेको हो। यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलमा ५ चौका प्रहार गरे।
त्यस्तै, हरप्रित सिंहले ४८ बलमा ४ चौकासहित ३२ रन जोडे। नूरुल्लाह अयोबीले १२, उड्डिश सुरीले ८, आर्यंश शर्माले ८, इथान डिसुजाले ६ तथा आफताब आलमले ४ रन बनाए।
यसैगरी बासिल हमिदले २, अन्स टन्डनले १ र इब्रार अहमदले १ रनको योगदान दिए। मुहम्मद मोहसिन भने शून्य रनमा अविजित रहे। यूएईले अतिरिक्तबाट ७ रन प्राप्त गरेको थियो।
नेपालका तर्फबाट सन्दीप लामिछाने, कुशल भुर्तेल, रसिद खान, ललित राजवंशी र यादवले विकेट लिँदै यूएईको इनिङ्स ध्वस्त पारे। नेपाली खेलाडीले फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै पाँच क्याच लिए।






