चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र

जुम्ला । जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत बजेट खर्च निराशाजनक देखिएको छ । कात्तिक मसान्तसम्म जिल्लामा कुल पुँजीगत बजेटको ४ दशमलव ६७ प्रतिशत मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका अनुसार चालु आर्थिक वर्षका लागि जिल्लामा पुँजीगततर्फ ३ अर्ब ३३ करोड १६ लाख १९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर, कात्तिक मसान्तसम्ममा उक्त बजेटको ४ दशमलव ६७ प्रतिशत मात्रै खर्च भएको कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी विकास बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाका लागि विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालयका लागि चालु आवमा १ अर्ब ७९ करोड ५० हजार रुपैयाँ पुँजीगत बजेट छुट्याइएकोमा कात्तिक मसान्तसम्म ६ करोड ४८ लाख १२ हजार रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजित बजेटको ३ दशमलव ६१ प्रतिशत हो ।

त्यस्तै, सघन सहरी तथा भवन आयोजनाका लागि १ अर्ब ३९ करोड २ लाख ५ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा पहिलो चौमासिकमा ६ करोड ८४ लाख २२ हजार रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ४ दशमलव ९२ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा सङ्घीय सरकारअन्तर्गतका ३६ वटा कार्यालय र आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ उक्त बजेट प्राप्त भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विकास निर्माणका लागि छुट्याइएको बजेटको खर्च भने निकै न्यून देखिएको छ ।