काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् ।
प्रधानमन्त्री शाहसहित नेपाली प्रतिनिधिमण्डल सवार नेपाल वायुसेवा निगमको विमान आइतबार केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन् । यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम छ । त्यहाँ आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यसबाहेक आइतबारका लागि उनको अन्य औपचारिक भेटघाट तथा कार्यक्रम निर्धारण गरिएको छैन ।
भ्रमणको दोस्रो दिन सोमबार (मंसिर ७ गते) प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाट हुनेछ । भारतीय समयअनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर उनले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । सो क्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार मध्याह्न १२ः२५ बजे दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
मोदीसँगको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
त्यस्तै, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ ।
भ्रमणको अन्तिम दिन सोमबार अपराह्न ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नेछन् ।
राष्ट्रपतिसँगको भेटपछि अपराह्न ४ः५० बजे प्रधानमन्त्री शाह नयाँदिल्लीबाट स्वदेश फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित रहने जनाएको छ । भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






