सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका नेपाली लेगस्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। यो एकदिवसीय (ओडीआई) क्रिकेटमा सन्दीपले प्राप्त गरेको पाँचौँ ‘प्लेयर अफ द म्याच’ अवार्ड हो।

सन्दीपले यूएईविरुद्ध १० ओभर बलिङ गर्दै ११ रन खर्चिएर तीन विकेट लिएका थिए। उनले आफ्नो स्पेलमा तीन ओभर मेडनसमेत राखेका थिए।

उक्त खेलमा सन्दीपसँगै तीन विकेट लिएका कुशल भुर्तेल पनि ‘प्लेयर अफ द म्याच’ अवार्डका दाबेदार थिए। कुशलले बलिङमा तीन विकेट लिनुका साथै ब्याटिङमा अर्धशतकसमेत प्रहार गरेका थिए।

खेलपछि प्रतिक्रिया दिँदै सन्दीपले पिच ब्याटिङका लागि निकै अनुकूल रहेको बताए। यस्तो पिचमा विपक्षी टोलीलाई १२२–१२३ रनमै सीमित गर्नु बलरहरूका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

‘विकेट हेर्दा यो निकै उत्कृष्ट ब्याटिङ पिच थियो। उनीहरूले पनि राम्रो प्रदर्शन गरिरहेका थिए। आफ्नो भूमिका निर्वाह गर्ने सबै बलर विशेष धन्यवादका पात्र छन्,’ उनले भने।

सन्दीपले पिचमा बल ब्याटमा राम्रोसँग आइरहेको र स्पिनसमेत नभएको उल्लेख गर्दै त्यहाँ २६० देखि २७० रनसम्म बन्न सक्ने अवस्था रहेको बताए।