सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

सुदूरपश्चिम – ‘सुदूरपश्चिम खप्तड गोल्डकप’ को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोट्र्स क्लब धनगढीले धनगढी रङ्गशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जनाएको हो।

क्लबका महासचिव प्रकाश शाहीले फुटबल खेलको विकास र विस्तारमार्फत सुदूरपश्चिमको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने, युवामा फुटबलप्रतिको आकर्षण बढाउने र सुदूरपश्चिममा खेल पर्यटनको विकास गर्ने प्रतियोेगिताको लक्ष्य रहेको उनको भनाइ थियो।

क्लबका अध्यक्ष योगेन्द्र चन्दले प्रतियोगितामा अन्तर्राष्ट्रियसहित १० वटा टोलीको सहभागिता रहने जानकारी दिए। प्रतियोगिता धनगढी रङ्गशालामा हुने उनले बताए।

क्लबले विसं २०७३ देखि यहाँ प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु ११ लाख पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार तथा ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ।