आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।