गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा एक लाख २३ हजार ७१४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो ।
यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । तथ्याङ्कअनुसार पर्यटक आगमनको सङ्ख्या कात्तिकमा सबैभन्दा बढी रहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ५२ हजार ८८६ जना रहेका छन् भने बाँकी अन्य देशका हुन् । उनका अनुसार असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले यस अवधिमा पर्यटकको आगमन बढी हुने गरेको छ ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग हुँदै बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकसमेत अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेका छन् ।
पदयात्राका लागि लोकप्रिय अन्नपूर्ण संरक्षण क्षेत्रभित्र अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र म्याग्दीको घोडेपानीलगायत आकर्षक पर्यटकीय गन्तव्य रहेका छन् । यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको नियमित आवागमन हुने गरेको छ ।
७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन र मौलिक संस्कृतिका कारण पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको यस संरक्षण क्षेत्रमा विभिन्न स्थानबाट छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सकिन्छ । जैविक विविधताका दृष्टिले समेत महत्त्वपूर्ण मानिने अन्नपूर्ण क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ ।





