ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार घटेको सुनचाँदीको मूल्य दोस्रो दिन सोमबार भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले वृद्धि भएको छ । मूल्य बढेसँगै छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ४५ रुपैयाँले बढेको छ । आइतबार ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार ११० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।